काठमाडौं असार २७
नारायणगढ-मुग्लिन सडक अचानक भासिएपछि एकतर्फी मात्र यातायात सञ्चालन गरिएको छ।
भासिएको स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्छ। सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भासिएको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार उक्त ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ। कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुला भाग छ। कालोपत्रे गरिएको आधा भागसम्म सडक भासिएको सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिएका छन्।
सडक भासिने क्रम बढ्दै गएपछि अध्ययनका लागि विज्ञ समूह झिकाइएको छ। बुधबार विज्ञहरूको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लगाउने छ।
सडक मंगलबार नै सामान्य भासिएको थियो। तर बुधबार भासिने क्रम बढ्दै गएर एक फिटजति पुगेको खनालले बताएका छन्।
नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भासिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । तलबाट नदीले खोलेर सडक भासिएको अनुमान गरिएको छ।
नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ । एकलेन थप्न करिब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ।
अकस्मात् सडक बन्द हुन सक्ने भन्दै सडक नियमित बनाउन गृहकार्य सुरु गरिएको छ। यस सडकमा वर्षाका बेला बारम्बार पहिरो गएर यात्रुले दुःख पाउँदै आएका छन्।
नारायणगढ-मुग्लिन सडकमा दैनिक १० हजार हाराहारी सवारीसाधन सञ्चालन हुन्छन्।
No comments:
Post a Comment