अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 27 March 2019

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु

खस्यौली, १३ चैत : बुटवल उपमहानगरपालिकाले नगरभित्र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरले अपाङ्गता परिचयपत्र कार्यविधि–२०७५ जारी गरेसँगै परिचयपत्र वितरण शुरु गरेको हो । 


उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन अपाङ्गता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गर्नुभयो । सो अवसरमा संयोजक आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई अझ व्यावहारिक एवं प्रभावकारी बनाउने गरी उपमहानगरले कार्यविधि बनाएको बताउनुभयो । 

सङ्घीय सरकारको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ का आधारमा बुटवलले नगर सरकारको कार्यविधि बनाउँदै समावेशीकरण तथा मूल प्रवाहीकरण शाखामार्फत् परिचयपत्र वितरणको काम शुरु गरेको छ । 

वडा नं. ५ का १२ वर्षीया सोनाज वानु, सात वर्षीय आयान खान र वडा नं ३ का चार वर्षीय देवांशराज कसजूलाई शारीरिक अवस्थाका आधारमा परिचयपत्र वितरण गरिएको थियो । उपमहानगरले परिचयपत्र अपाङ्गताको अवस्थाबमोजिम रातो, निलो, पहेँलो र सेतो गरी चार रङ्गका परिचय वितरण गर्ने छ । यस्का लागि वडा कार्यालयको सिफारिससहित तोकिएको ढाँचाको फारम भरेर उपमहानगरको सम्बन्धित शाखाले प्रत्येक सोमबार परिचयपत्र वितरण गर्ने गरी तालिका तय गरिएको समावेशीकरण तथा मूल प्रवाहीकरण शाखाका सदस्य सचिव दामोदर ज्ञवालीले बताउनुभयो । 

उपमहानगरका उपप्रमुख आचार्यको संयोजकत्वमा गठन भएको समन्वय समितिमा सदस्यमा विद्यालयका तर्फबाट नवीन औद्योगिक माविका प्रअ प्रेमबहादुर बस्नेत, अन्य सङ्घसंस्थाका तर्फबाट राष्ट्रिय अपाङ्ग महासङ्घ ५ नम्बर प्रदेशका सदस्य सावित्रा घिमिरे, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बुटवल–१२ का डा राजीव केसी रहनुभएको छ । 

यस्तै सुस्त मनस्थिति बालविद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसाल, नयाँ जीवनका लागि हातेमालो कार्यक्रमका प्रमुख मन पाण्डे, प्रदेशस्तरीय बहिरा तथा सुस्त श्रवण सङ्घका महासचिव पीताम्बर लम्साल तथा कार्यपालिकाका महिला सदस्य उक्त समन्वय समितिमा हुनुहुन्छ । उपमहनगरमा विभिन्न अवस्थाका करीब एक हजार ७०० अपाङ्गता भएका व्यक्ति रहेको अनुमान गरिएको छ ।(रासस)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here