बर्षाका कारण भक्तपुर डुबानमा, एकै परिवारका तीन जनाको मृत्यु - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 12 July 2018

बर्षाका कारण भक्तपुर डुबानमा, एकै परिवारका तीन जनाको मृत्यु


भक्तपुर,२८ असार । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो । जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । 
मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताउनुभयो । 

जारी वर्षाका कारण घरमाथिको ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो। टहरो घरमा सुतिरहेका घरमाथिको ढिस्को खसेर थिच्दा घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी बुवाआमा चाहिँ सोही ठाउँमा रहेको अर्को पक्की घरमा सुतेकाले बचेको बताइएको छ । केही व्यक्ति घाइते भएर अस्पतालमा उपचार गराइहेको प्रहरीले जनाएको छ। उद्धार जारी रहेकाले धनजनको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाउको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here