काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिएको बयानमा रुस र चीनको मद्दतका कारण नै उत्तर कोरिया सफलतापूर्वक मिसाइल परीक्षण गर्न सक्षम भएको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्र संघको प्रतिबन्धलाई उल्लंघन गर्दै रुस र चीनले लगातार उत्तर कोरियालाई उपभोग्य वस्तु र इन्धन निर्यात गरिरहेकाले प्योङयोङ विशाल मिसाइल निर्माणमा सफल हुँदै गइरहेको भन्दै ट्रम्पले कडा आलोचना गरेका हुन् ।
रोयटर्ससँगको अन्तर्वार्तामा ट्रम्पले उत्तर कोरियाको मुद्दामा रुसले अमेरिकाको कुनै मद्दत नगरेको र उल्टै अन्तर्राष्ट्रिय प्रतिबन्धका विरुद्ध विभिन्न सहयोग पु¥याइरहेकोमा आक्रोश पोखेका हुन् । ट्रम्पले भने, ‘चीनले हामीलाई जति पनि सहयोग गरिरहेको छ त्यो सबैको भरपाइ रुसले उत्तर कोरियालाई गरिरहेको छ त्यसैले हामीले जतिसुकै कडा कदम उठाएपनि त्यसको कुनै अर्थ छैन ।’
यसवर्ष ट्रम्पका लागि सबैभन्दा ठूलो चुनौति उत्तर कोरिया विवादलाई सुल्झाउनु रहेको बताउँदै ५३ मिनेटको अन्तर्वार्तामा उनले किमसँग कुरा गर्नु उपयोगी हुनेमा शंका रहेको बताए । उनले भने, ‘किमसँग प्रत्यक्ष वार्तामा बस्न म तयार छु तर त्यसले केही अर्थपूर्ण निष्कर्ष निकाल्छ भन्नेमा म अझै विश्वस्त छैन । पछिल्लो २५ वर्षदेखि हामीले उत्तर कोरियासँग वार्ता गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरुले केबल हाम्रो देशका राष्ट्रपतिको फाइदा मात्र उठाउँदै आएका छन् ।’ यसका साथै ट्रम्पले चीनका प्रयासहरुको प्रशंसा गरेपनि भनेजस्तो उपलब्धी हासिल गर्न नसकेकामा चाहिँ असन्तुष्टि व्यक्त गरेका छन् ।
उत्तर कोरिया दिनप्रति दिन आणविक हतियार निर्माण कार्यमा सफल हुँदै जाँदा अमेरिकामाथि आक्रमण गर्नतर्फ नजिकै पुगिसकेको भन्दै ट्रम्पले चीन र रुसलाई गम्भीर भएर सोच्न आग्रह गरेका छन् । उनले भने, ‘उत्तर कोरिया अमेरिकासम्म पुग्न अझै पूर्ण रुपमा तयार भएको छैन तर उनीहरु यसको एकदमै नजिक छन् जसकारण हामी होसियार रहनुपर्छ ।’
No comments:
Post a Comment